न्यू योर्क। ट्याक्सी एण्ड लिमोजिन कमिसन (टिएलसी) ले न्यूनतम ज्याला बढाए हजारौं ड्राइभर कटौति गर्ने जनाएको छ। अघिल्ला वृद्धिका कारण महंगो भएकाले न्यू योर्क सिटीमा सेवाग्राही घटेको उबरको तर्क छ।
ड्राइभर घटाए जुन समुहलाई सहयोग गर्न न्युनतम ज्याला बढाउन लागेको हो त्यहि समुहलाई चोट पुग्ने उबरको भनाइ।
‘फेरी न्युनतम ज्याला बढाए ड्राइभरले उबर एप प्रयोग गर्न पाउने क्षमतामा ह्रास आउने छ,’ उबरका सिनियर इकोनोमिस्ट रोड्रिगो मोएजरले मिडियम डटकम ब्लगमा उल्लेख गरेका छन्, ‘भाउ चाहे जति बढाउन सकिन्छ, तर त्यसले सेवाग्राही घटाउँछ र जसलाई सहयोग गर्न खोजिएको हो उसैलाई चोट पुग्छ।’
मोएजरले न्यूनतम ज्याला वृद्धि गरिए कति प्रतिशत ड्राइभर कटौति गर्छ भन्ने उल्लेख गरेका छैनन्। एएमएनवाई डटकमले वृद्धिको आकार अनुसार हजारौं ड्राइभरको उबर एप स्थायी रुपमा डिएक्टिभेट हुनसक्ने उबरका एकजना प्रवक्ताले जनाएको उल्लेख गरेको छ। टिएलसीले यहि नोभेम्बरमा नयाँ ज्यालादर घोषणा गर्ने अपेक्षा छ। ग्यासको मुल्य र महंगी घटेको भन्दै उबरले प्रति माइल भाडा छ प्रतिशतले घटाउन टिएलसीलाई दबाव दिइरहेको छ।





प्रतिक्रिया