
न्यू योर्क। घर तथा अपार्टमेन्ट भाडामा लिँदा भाडावालाले तिर्नुपर्ने ब्रोकर फी अन्त्य गर्न न्यू योर्क सिटी काउन्सिलमा मतदान हुने भएको छ। ब्रोकर फी अन्त्य गर्ने प्रावधान रहेको फेयरनेस इन अपार्टमेन्ट रेन्टल एक्पेन्सेस (फेयर) एक्ट नामक अध्यादेशमा नोभेम्बर १३ मा मतदान हुने अपेक्षा गरिएको छ।
फेयर एक्ट अध्यादेश काउन्सिल मेम्बर ची असको अगुवाइमा सिटी काउन्सिलमा दर्ता भएको हो। यो अध्यादेश पारित भए ब्रोकर फी तिर्नुपर्ने दायित्व भाडावालाबाट घर वा अपार्टमेन्टधनीमा सर्नेछ। घर तथा अपार्टमेन्टधनीहरूले भाडावाला खोज्न ब्रोकर नियुक्त गरेका हुन्छन्।मेम्बर
न्यू योर्क सिटीमा ब्रोकरले वार्षिक भाडाको न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्म ब्रोकर फी असुल्ने गरेका छन्। त्यस्तो फी न्यूनतम दुई हजार डलरदेखि २० हजार डलरसम्म हुने गरेको छ।
धेरै न्यू योर्क सिटिवासीले चासोका साथ हेरेको यो अध्यादेश मतदान सम्म पुग्नु ठूलो उपलब्धि हो। तर, न्यू योर्क सिटी काउन्सिल स्पिकर एड्रियन आडम्सले मतदानको मिति तोकिसकेका छैनन्। कूल ५१ सदस्यीय सिटी काउन्सिलमा यो अध्यादेशलाई समर्थन गर्ने काउन्सिल मेम्बरको सङ्ख्या ३३ छ। बहुमत काउन्सिल मेम्बरले पक्षमा मतदान गरे यो अध्यादेश कानून बन्छ। पक्षमा ३३ काउन्सिल मेम्बर भएकाले मतदानबाट यो अध्यादेश स्वतः पारित हुने अवस्था छ।
काउन्सिल स्पिकर आडम्सले भने यो अध्यादेशको समर्थन गरेका छैनन्। निर्णयका लागि काउन्सिलमा अध्यादेश पेश गर्न स्पिकर आडम्सको स्वीकृति आवश्यक पर्छ। घर जग्गा व्यवसायीहरूले भने यो अध्यादेशको चर्को विरोध गर्दै आएका छन्।
प्रतिक्रिया