
न्यूयोर्क। नेपाली कला संस्कृति र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले न्यूयोर्कको क्विन्समा ब्यापार मेला आयोजना हुने भएको छ। हिमालयन कल्चर स्ट्रिट फेयर हाम्रो मेला नाम दिएको यस सडक ब्यापार मेला यही अक्टोबर १९ शनिबार दिन हुने हाम्रो मेला इन्कले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
मेलाका सञ्चालक दिपेन्द्र लामाले अमेरिकामा सञ्चालनमा रहेका नेपाली व्यवसायको संरक्षण र संवर्द्धनका लागि तेस्रो हाम्रो मेला आयोजना हुन गइरहेको जानकारी दिए। न्यूयोर्कको क्विन्सस्थित ज्याक्सन हाइट ७६ स्ट्रिटमा सञ्चालन हुने मेलामा करिब ५० वटा स्टलहरू रहने र सो स्टलहरू नेपाली कला, संस्कृतिसँग सम्बन्धित उत्पादनहरू र नेपाली व्यवसायीहरूको उत्पादनहरू प्रदर्शन हुने हाम्रो मेला इन्कका सञ्चालक लामाले बताए। यसपटक नेपाली थाङ्काको समेत प्रदर्शन हुने उनले जानकारी दिए। यो मेला नेपालीको मात्र नभई नेपाली भाषा बोल्ने भुटानी, तिब्बत, भारत लगायत देशका नेपालीभाषी समुदायको सहभागितामा हुने पनि उनले जानकारी दिए। ‘मेलालाई क्वीन्सबोरो प्रेसिडेन्ट, डिस्ट्रिक्ट ३० को एसेम्ब्ली मेम्बर लगायतले प्रायोजन गरेको छ’, उनले भने। मेलालाई आगामी दिनमा न्यूयोर्कको म्यानहाटनमा समेत आयोजना गर्ने आयोजकको छ।
यसैगरी हाम्रो मेलाका अर्का सञ्चालक केशवराम राईले नेपाली उत्पादनहरूको प्रबर्द्धन गर्नुका साथै नेपाली व्यवसायको विकासको लागि यो मेला आयोजना गरेको बताए। यसप्रकारको ब्यापार मेलाले नेपाली समुदायका नयाँ जेनेरेसनलाई जानकारी गराउने र नेपाली व्यवसायी र अन्य देशका व्यवसायीबीच पनि सम्बन्ध विस्तार गर्ने कार्यमा सफलता हासिल हुने राईले बताए। ‘यो मेलालाई सबै नेपालीभाषी समुदायले सहभागिता जनाएर सफल पार्नु पर्छ,’ उनले भने।
यसैगरी हाम्रो मेलाका अर्का सञ्चालक निमा कान्छी शेर्पाले मेलामा सांस्कृतिक कार्यक्रम, फेसन सो, नेपाली हस्तकला, खाना आदी प्रदर्शन हुने जानकारी दिए । मेलामा नेपाली कलाकारहरूले विभिन्न गीत सङ्गीत तथा नृत्यको प्रस्तुती रहने बताउँदै सांस्कृतिक कार्यक्रम सञ्चालनका क्रममा अमेरिकामा रहेका नयाँ प्रतिभाका धनी कलाकारहरूले आफ्नो प्रस्तुती दिने पनि उनले जानकारी दिए। मेला विहान १० बजेबाट शुरु हुने र बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। हाम्रो मेलाका मिडिया पार्टनर एनवाईसी नेपाल न्युज, हेलो अमेरिका र मकै हाउस टिभी रहेका छन्।
पत्रकार सम्मेलनको भिडियोः
प्रतिक्रिया