कार्यक्रमले अमेरिकी नागरिकसँग विवाह गरेका करिब पाँच लाख कागजात विहिन आप्रवासीलाई देश निकाला (डिपोर्टेसन) हुन बाट बचाउनुका साथै नागरिकता प्राप्तिको ढोका खोलिदिन्छ।
न्यू योर्क। राष्ट्रपति जो बाइडेनले आप्रवासीको हीतमा ल्याएको ‘परोल इन प्लेस’ कार्यक्रम सेप्टेम्बर २३ सम्मका लागि रोकिएको छ। टेक्ससका डिस्ट्रिक कोर्टका न्यायधीश जे क्याम्बेल बार्करले उक्त कार्यक्रम अस्थायी रुपमा रोक लगाएका हुन्।
चुनावी मुखमा ल्याइएको उक्त कार्यक्रम विरुद्ध १६ रिपब्लिकन राज्य अदालत पुगेका थिए। राष्ट्रपति बाइडेनले कागजात विहिन आप्रवासीको पक्षमा ल्याएको कार्यक्रम अन्त्य गर्नुपर्ने उनीहरुको माग छ। मागको अगुवाइ टेक्सासले गरेको छ।
राष्ट्रपति बाइडेनले चुनावको मुखमा ल्याएको बाइडेनको कार्यक्रमले अमेरिकी नागरिकसँग विवाह गरेका करिब पाँच लाख कागजात विहिन आप्रवासीलाई देश निकाला (डिपोर्टेसन) हुन बाट बचाउनुका साथै नागरिकता प्राप्तिको ढोका खोलिदिन्छ।
बाइडेनले गत जुनमा ‘कमन सेन्स फिक्स’ भन्दै मिश्रित हैसियत (मिक्स्ड स्ट्याटस) मा रहेका परिवारका लागि ‘परोल इन प्लेस’ कार्यक्रम ल्याएका थिए। उक्त कार्यक्रम विरुद्ध गत अगष्ट २३ मा मुद्धा दायर भएको छ। ती राज्यहरुले बाइडेन प्रशासनले ‘जबर्जस्त राजनीतिक उदेश्य’ प्राप्तिका लागि कंग्रेस छलेर उक्त कार्यक्रम ल्याएको दाबी गरेका छन्।
उक्त कार्यक्रम अन्तर्गत कानूनी हैसियत नभएका अमेरिकी नागरिकका जोडिले अगष्ट २६ देखि आवेदन दिन सक्थे। त्यस कार्यक्रमले त्यस्ता जोडिलाई अमेरिकामा बस्ने अनुमति दिन्थ्यो। ग्रीन कार्डका लागि आवेदन दिन सकिन्थ्यो जसले नागरिकता प्राप्तिका लागि ढोका खोल्थ्यो।
आप्रवासन एउटा मुख्य चुनावी मुद्धा बनेको र चुनावकै पूर्वसन्ध्यामा ल्याइएकाले यो कार्यक्रम विवादास्पद बनेको छ। रिपब्लिकनहरुले यो कार्यक्रमले अमेरिकी कानून तोड्ने आप्रवासीलाई उन्मुक्ति दिने भन्दै विरोध गरिरहेका छन्। टेक्ससका अटोर्नी जेनरल (महान्यायधिवक्ता) केन प्याक्स्टनले प्रेस विज्ञप्ति मार्फत यो कार्यक्रमले ‘संबिधान उल्लंघन गर्ने र टेक्सस र हाम्रो देशको आहत बनेको गैरकानूनी आप्रवासन विपत्ति सक्रियताका साथ अझ खराब बनाउने’ बताएका छन्
मुद्धा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस), डिएचएस सेक्रेटरी अलेहान्द्रो मयोर्कास र बाइडेन प्रशासनका अन्य अधिकारी विरुद्ध दायर गरिएको छ। मुद्धामा डिएचएस लगायतका एजेन्सीले अमेरिकी नागरिकका जोडीलाई ‘सामुहिक रुपमा’ अमेरिका बस्न दिन खोज्नु अधिकार दुरुपयोग भएको आरोप लगाइएको छ।
बाइडेन प्रशासनले ल्याएको उक्त कार्यक्रमका लागि योग्य नियमित रुपमा कम्तिमा १० वर्ष अमेरिका बसेको, सुरक्षा खतरा नबनेको वा अपराधिक इतिहास नरहेको र जुन १७ सम्म अमेरिकी नागरिकसँग विवाह गरिसकेको हुनुपर्छ। आवेदनका लागि उनीहरुले ५८० डलर तिर्नुपर्छ। मानवीय आधारमा किन बस्न दिने भनेर ब्याख्या सहित लामो फारम भर्नुपर्छ। साथै, थुप्रै कागजात पेश गर्नुपर्छ।
प्रतिक्रिया