न्यु योर्क। न्यु योर्क राज्यको २०२६ मा हुने स्टेट एसेम्ब्ली प्राइमरी निर्वाचन अभियानको क्रममा डेभिड ओर्किन रिजउडस्थित नेपाली मन्दिर पुगेका छन्। डिस्ट्रिक्ट ३८ बाट प्राइमरी निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेद्वारी घोषणा गरेका उनी शनिबार (जनवरी ३१) मा रिजउडस्थित गीता मन्दिर पुगेका हुन्।
त्यहाँ उनले श्री स्वस्थानी व्रतकथा समारोहमा उपस्थित करिब एक सय नेपाली समुदायलाई सम्बोधन गरे। "म श्रमिक वर्गको प्रतिनीधित्व गर्न एसेम्ब्लीमा जान चाहेको हूँ," उनले भने, "यो शहर धान्न नसक्ने बनेको छ। नेल सलुनमा काम गर्ने, ट्याक्सी चालक लगायतका समुदाय समस्यामा छन्। त्यसमाथि आइस (इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट) को आतङ्क थपिएको छ।"
स्टेट एसेम्ब्लीमा निर्वाचित भए उनले तीन वटा मुख्य मुद्दामा काम गर्ने बताए। "पहिलो म जोहरान (न्यू योर्क सिटी मेयर) को एजेण्डामा काम गर्छु," उनले भने। अर्बपतिलाई न्यायोचित कर लगाउने जस्ता मेयर जोहरान माम्दानीका गरिबमूखी एजेण्डा राज्यस्तरमा एसेम्बली र सिनेटबाट पारित हुनुपर्छ। उनले स्टेट एसेम्बलीमा निर्वाचित भए ती एजेण्डालाई पारित गराउन सहयोग गर्ने बताउँदै आएका छन। समारोहमा छिटो छरितो निःशुल्क बस सेवा, धान्न सकिने घरभाडा लगायतका जोहरानले अघि सारेका एजेण्डामा सहयोग पुग्न गरि राज्यबाट बजेट निर्माणमा भुमिका खेल्ने उनको भनाइ थियो।
"दोस्रो, म आईसलाई न्यू योर्क सिटीमा आउनबाट रोक्न राज्यस्तरबाट भुमिका खेल्ने छु," उनले भने, "रिजउडसहित ५० प्रतिशत आप्रवासी भएको डिस्ट्रिक्ट ३८ प्रतिनिधित्व गर्ने वर्तमान एसेम्बली मेम्बरले आईसलाई स्वागत गर्ने काम गरिन्।" ओर्किनले यसो भन्दा त्यहाँ उपस्थित नेपाली समुदायले ताली बजाएका थिए। हाल न्यु योर्क स्टेटमा डिस्ट्रिक्ट ३८ लाई जेनिफर राजकुमारले प्रतिनीधित्व गर्छिन्। उनले अर्बपतिहरुबाट चन्दा स्वीकारे तथा श्रमजीवि वर्गको पक्षमा आवाज नउठाएको आरोपसँगै दक्षिण एशियाली तथा इन्डो-क्यारेबियन आप्रवासी समुदायको अधिकारका लागि काम गर्ने देसिज राईजिङ अप एण्ड मुभिङ (ड्रम) बिट्सले ओर्किनलाई समर्थन गरेको छ। उनलाई नेपाली मूलकी न्यु योर्क स्टेट एसेम्बली मेम्बर सरहाना श्रेष्ठले पनि केही दिन अघि इन्डोर्समेन्ट दिँदै चुनावमा सघाउन नेपाली समुदायलाई आग्रह गरेकी थिइन्।
साथै, तेस्रोमा उनले सरसफाइको काम गर्ने, घरेलु काम गर्ने लगायतका परम्परागत श्रम उद्योगले नचिनेका श्रमिकको हित र सुरक्षामा काम गर्ने बताए। "केही महिनापछि निर्वाचन हुँदैछ। म यो मन्दिरको नजिकै बस्छु," उनले भने, "तपाईँहरूलाई मेरो कुरा चित्त बुझ्यो भने सहकार्य गरौँ।"
कार्यक्रममा ओर्किनलाई मन्दिरका पुजारीले खादा लगाइदिएका थिए। उनी जुइस समुदायका हुन्। उनकी आमा भने मेक्सिकोकी आप्रवासी हुन्। मेक द रोड न्यू योर्क नामक आप्रवासी समुदायका लागि काम गर्ने संस्थाका अधिवक्ता उनले खासगरि सीमा क्षेत्रमा रहेर आप्रवासी समुदायको हितमा करिब एक दशक काम गरेका छन्। उनले खासगरि कागजात नभएका आप्रवासीलाई डिपोर्टेसनबाट जोगाउन भूमिका खेलेका छन्। उनलाई डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाले पनि आफ्ना उमेद्वारका रुपमा समर्थन गरेको छ। साथै, उनलाई जोहरान माम्दानीले पनि समर्थन गर्ने तयारी रहेको बताइएको छ।




प्रतिक्रिया