२२ मंसिर २०८२, आइतबार
Sun, Dec 7, 2025
SUBSCRIPTION

विश्वभर छरिएका नेपाली मूलका व्यक्तिलाई पनि नेपाली पहिचान दिन माग

पुस्तौअघि नेपालबाट बाहिरिए पनि नेपाली पनकासाथ बाँचिरहेको र नेपालको समृद्धिमा योगदान दिन तयार रहेकोले नेपाली पहिचान दिलाउन उनीहरुले माग गरेका हुन् ।
विश्वभर छरिएका नेपाली मूलका व्यक्तिलाई पनि नेपाली पहिचान दिन माग

न्यूयोर्क । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई पनि नेपाली पहिचान दिलाउन नेपाली मूलका अगुवाहरुले नेपाल सरकारसंग माग गरेका छन् । पुस्तौअघि नेपालबाट बाहिरिए पनि नेपाली पनकासाथ बाँचिरहेको र नेपालको समृद्धिमा योगदान दिन तयार रहेकोले नेपाली पहिचान दिलाउन उनीहरुले माग गरेका हुन् । 
पेन्सिलभेनिया राज्यको कार्लाइल सिटीमा आयोजना भएको एसोसिएसन अफ नेपाली ओरिजिन         (एएनओ)को राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली मूलका अगुवाहरुले यस्तो माग गरेका हुन् । नेपाली पन र सानकासाथ विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरु नेपालमा जाँदा विदेशी नागरिक जस्तै व्यवहार भोग्नु परेको गुनासो उनीहरुको थियो । 
एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसहरुलाई नेपाल सरकारले पहिचान दिनुपर्ने बताए । अध्यक्ष अधिकारीले पुस्तौअघि नेपालबाट वाहिर गएका नेपाली मूलका मानिसहरु पनि नेपालीकै रुपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार रहेको बताउदै त्यसका लागि नेपाल सरकारले नेपालीको पहिचान दिनुपर्ने बताए । 
कार्यक्रममा ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा.दामोदर पौडेलले नेपाली जातिका सबै मानिसहरुलाई नेपालसंग जोड्ने एएनओको अभियान रहेको जानकारी दिदै यसलाई नेपाल सरकारले पनि गम्भीरताकासाथ लिनुपर्ने बताए । सबै नेपाली मूलका व्यक्तिलाई नेपाली पहिचान दिन सके यसले नेपालको समृद्धिमा योगदान पुग्ने विश्वास उनको थियो । 
नेपाली भूमिमै नेपाली मूलका जाति शरणार्थीको रुपमा बाँच्नु परेको दुखेसो पोख्दै एएनओका बोर्ड अफ ट्रष्टी सदस्य ओमराज गुरुंगले आफूहरुले नेपाली पन, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै आएको बताए । 
कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिलाउनु पर्ने आग्रह सकारात्मक रहेको बताउदै यो मागलाई आफुले नेपाल सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे । नेपालको निर्माण र समृद्धिमा नेपाली मूलका जातिले ठूलो योगदान दिनसक्ने उल्लेख गर्दै नेपाली मूलका मानिसहरुलाई पर्ने समस्या बारेमा छलफल गर्न दूतावास संधै तयार रहेको जानकारी गराए । सो अवसरमा नेपाली मूलका मानिसको पहिचान गरी उनीहरुलाई परिचय पत्र उपलब्ध गराउने मागसहितको स्मरण पत्र एएनओको तर्फबाट कार्यवाहक राजदूतलाई हस्तान्तरण गरिएको थियो ।

राष्ट्रिय सम्मेलनबाट डा.भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकाको राष्ट्रिय समिति गठन भएको एएनओका महासचिव चूडामणि घोषणा गरे । अमेरिकाको विभिन्न राज्यबाट प्रतिनिधिका रुपमा भाग लिन आएका सामाजिक कार्यकर्ताहरुलाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको भट्टराईले जानकारी दिए । 
समितिको उपाध्यक्षमा डा.सन्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिव चन्द्र पराजुली, कोषाध्यक्ष तृष्णा चिमोरिया, सहायक कोषाध्यक्ष सब्या विष्ट र प्रबक्तामा केशब आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा सुवोध घिमिरे, पुनम दुलाल, रनसिंह मगर, गण्डकी पुत्र, दीपकजंग विश्वकर्मा, डा. जोन मगर, डा.ऋषि बस्ताकोटी, गंगा बस्नेत, युवकरत्न तुलाधर, राम श्रेष्ठ, श्रृष्टि राई, मनोज जोशी, टीबी गुरुङ, निशा गुरुङ चयन भएका छन् । त्यसैगरी नेशनल डेलिगेट कमिटीमा उपेन्द्र लुईटेल, रुपेश उप्रेती, केशब पौडेल, मेलिना मोक्तान, मन न्यौपाने, मुस्कान बालाम्पाकी मगर, तमन्ना गुरुंग, विकास घले, नबीन भट्टराई, अभिशेष थापा, रेनु न्यौपाने, माधव पोख्रेल, लक्ष्मी संग्रौला र घनश्याम रसाइली चयन भएका छन् । 
सो अवसरमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको गायन तथा नृत्य कक्षाका विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने आकर्षक नृत्य र राष्ट्रिय गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनिता पुरी राईलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया