०९ वैशाख २०८२, मङ्गलबार
Tue, Apr 22, 2025
SUBSCRIPTION

डेढ देखि दुई करोड आप्रवासी डिपोर्ट गर्ने ट्रम्पको योजना

डेढ देखि दुई करोड आप्रवासी डिपोर्ट गर्ने ट्रम्पको योजना

को को छन जोखिममा?

 

  • चेक जाँच छली अमेरिका प्रवेश गरेका अधिकांश आप्रवासी 
  • अस्थायी प्रयोजनका लागि अमेरिका प्रवेश गरेका र अवधि सकिएपछि नफर्किएका आप्रवासी 
  • टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) र डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) वा अरु परिस्थितिका कारण संरक्षणमा रहेका आप्रवासी 
  • अमेरिकाबाट हटाइने अदालति प्रक्रियामा रहेका आप्रवासी 
  • ग्रीन कार्ड प्राप्त गरि नसकेका आप्रवासी 
  • डिपोर्टेसनमा सेना परिचालन गरिने

 

एनवाइसिनेपालन्युज। रिपब्लिकन पार्टि र निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘२०२४ जिओपी प्ल्याटफर्म मेक अमेरिका ग्रेट अगेन’ नामक घोषणापत्र मार्फत सबैभन्दा ठूलो निर्वासन (डिपोर्टेसन) अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसमा मिलियन्स अर्थात् लाखौं ‘गैरकानूनी आप्रवासी’ डिपोर्ट गर्ने उल्लेख छ। ठ्याक्कै संख्या भने उल्लेख छैन। तर, उनले केही समय अघि एउटा अमेरिकी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै डेढ करोड देखि २ करोड ‘कागजात विहिन आप्रवासी’ हटाउने भनेका छन्। यसबाट ट्रम्पले मोटामोटी कति आप्रवासी डिपोर्ट गर्ने योजना बनाएका छन् भन्ने प्रष्ट हुन्छ।  

ट्रम्प र रिपब्लिकन पार्टीले डिपोर्ट गर्ने आप्रवासीको सूचीमा को को छन्? त्यस सम्बन्धमा घोषणापत्र र सञ्चार माध्यमहरुमा ‘गैरकानूनी आप्रवासी’ र ‘कागजात विहिन आप्रवासी’ भन्ने आएको छ। तर, ट्रम्प र रिपब्लिकन पार्टिले ‘गैरकानूनी आप्रवासी’ र ‘कागजात विहिन आप्रवासी’ को प्रष्ट ब्याख्या गरेको छैन। उता आप्रवासन नियमन गर्ने सर्वोच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले भने ‘अनधिकृत आप्रवासी’ भन्ने शब्दावली प्रयोग गरेको छ, जसको परिभाषाभित्र ‘गैरकानूनी आप्रवासी’ र ‘कागजात विहिन आप्रवासी’ दुवै अटाउँछन्।  

धेरै सार्वजनिक सञ्चार माध्यमहरु ‘अनधिकृत आप्रवासी’ र ‘कागजात विहिन आप्रवासी’ लाई समानार्थी शब्दावलीका रुपमा प्रयोग गर्छन्। विभिन्न सरकारी निकायले बिना भिसा अमेरिका आएका, अस्थायी भिसा अवधि नाघेपछि पनि अमेरिका बसोबास गरिरहेका र सीमा क्षेत्रबाट बिना चेकजाँच र कानूनी प्रक्रिया पुरा नगरि प्रवेश गरेका आप्रवासीलाई ‘गैरकानूनी आप्रवासी’ भनेर ब्याख्या गरेका छन्। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए उनले सामुहिक रुपमा आप्रवासी हटाउन प्रयोग गर्ने झण्डै एक दर्जन मध्य मुख्य निकाय डिएचएस र त्यस अन्तर्गतको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) हो। 
डिएचसएसको तथ्यांक अनुसार हाल करिब एक करोड १० लाख आप्रवासीमात्र छन्। यो संख्या ट्रम्पको डिपोर्टेसन सूचीमा रहेको संख्या भन्दा कम हो। टाइम्स म्यागेजिनलाई दिएको अन्तर्वार्ता अनुसार उनको डिपोर्टेसन लिस्टमा डेड करोड देखि दुई करोड आप्रवासी छन्। बाँकी ४० लाख देखि ९० लाख आप्रवासी को हुन् भन्ने प्रष्ट छैन। 

 

 

डिएचएसले ‘अनधिकृत आप्रवासी’ भनेर चेक जाँच छली अमेरिका प्रवेश गरेका अधिकांश आप्रवासी, अस्थायी प्रयोजनका लागि अमेरिका प्रवेश गरेका र अवधि सकिएपछि नफर्किएका, टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) र डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) वा अरु परिस्थितिका कारण संरक्षणमा रहेका, अमेरिकाबाट हटाइने अदालति प्रक्रियामा रहेका र ग्रीन कार्ड प्राप्त गरि नसकेका आप्रवासी भनेर ब्याख्या गरेको छ। यो ब्याख्या अनुसार ट्रम्प पुनः राष्ट्रपतिमा चुनिए ग्रीन कार्ड नभएका सबै डिपोर्टेसनको जोखिममा छन्। 

यो तहको डिपोर्टेसन संभव नरहेको र हरेक डिपोर्टेशनमा कानूनी चुनौति बेहोर्नु पर्ने सञ्चार माध्यमहरुको विश्लेषण छ। ट्रम्पले २०१५ को चुनावी अभियानमा पनि एक करोड १० लाख आप्रवासी डिपोर्ट गर्ने घोषणा गरेका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि उनले त्यो संख्या संशोधन गरि २० लाख देखि ३० लाखमा झारेका थिए। आफ्नो चार वर्षे कार्यकालमा उनले कूल नौ लाख ३४ हजार आप्रवासी डिपोर्ट गरेका थिए।

ट्रम्पको डिपोर्टेसन अभियान सञ्चालन गर्न पर्याप्त भौतिक पूर्वाधार पनि छैन। हाल आइसिईसँग रहेको डिटेन्सन सेन्टरमा ४१ हजार ५०० शैय्या र छ हजार जनशक्ति मात्र छ। साथै, डिपोर्टेसनमा सबै राज्य र स्थानीय सरकारले पूर्ण सहयोग गर्नेमा आशंका छ। तर, उनले डिपोर्टेसनमा सेना प्रयोग गरिने सार्बजनिक अभिव्यक्ति दिइसकेका छन्। 

घोषणापत्रमा ट्रम्प र रिपब्लिकन पार्टीले गैरकानूनी आप्रवासीले आवास, शिक्षा, र स्वास्थ क्षेत्रमा आर्थिक भार बढाएको दाबी गरेका छन्। उनीहरुले करदाताको पैसा सोसल सेक्युरिटी फण्ड र मेडिकेयर वृद्धवद्धा अमेरिकीका लागि सुरक्षित गर्नुपर्ने उल्लेख गरेका छन्। 

प्रतिक्रिया