
न्यु योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले न्यु योर्क र टेक्सासमा किरात राईहरूको महान चाड साकेला उँभौली सम्पन्न गरेको छ।
केआरएसए न्यु योर्क च्याप्टरले क्विन्सको क्विन्सब्रिज पार्क र टेक्सास च्याप्टरले लिगेसी पार्क, अर्लिङटनमा साकेला उँभौली मनाएको हो। क्विन्सब्रिज पार्कमा भएको कार्यक्रममा करिब तीन सय जना सहभागी भएको आयोजकले जनाएको छ। उता टेक्सासको लिगेसी पार्कमा भने कम्तिमा दुई सय ५० जना सहभागी भएको टेक्सास च्याप्टर अध्यक्ष प्रदिप राईले बताए।
न्यु योर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा विशेष अतिथि न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर क्लेयर भाल्डेजले केआरएसएलाई ‘प्रोक्ल्यामेसन’ प्रदान गरिन्। उनले केआरएसले न्यु योर्क र अमेरिकामा किरात राई संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा अतुलनीय भूमिका खेलेको भन्दै उक्त ‘प्रोक्ल्यामेसन’ प्रदान गरेकी हुन्। ‘प्रोक्ल्यामेसन’ कुनै पनि सङ्घसंस्थाले समुदायको हितमा खेलेको भूमिका पहिचान गरी प्रदान गरिने मान्यताको आधिकारिक घोषणा हो।
त्यस्तै, अर्का विशेष अतिथि न्यु योर्क सिटी काउन्सिल मेम्बर टिफ्फानी कबानले केआरएसएलाई ‘साइटेसन’ प्रदान गरिन्। सामाजिक सङ्घसंस्थालाई उक्त संस्थाले समुदायको हितका लागि खेलेको भूमिका औपचारिक रुपमा पहिचान गर्न गरी सम्मान जनाउन ‘साइटेसन’ प्रदान गरिन्छ।
स्टेट एसेम्ब्ली मेम्बर भाल्डेजले प्रदान गरेको प्रोक्ल्यामेसन र सिटी काउन्सिल मेम्बर कबानले प्रदान गरेको साइटेसन केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले ग्रहण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल–अमेरिका आदिवासी जनजाति महासङ्घ (फिप्ना) का अध्यक्ष तोरण गुरुङले किरात राई समुदायको महान चाड साकेला उँभौलीको शुभकामना दिए। उनले यो चाडले किरात राई समुदायको संस्कार संस्कृति प्रवर्दनमा महत्वपूर्ण भुमिका खेलेको बताए।
कार्यक्रममा न्यु योर्कमा रहेका मध्ये करिब डेड दर्जन नेपाली र दक्षिण एसियाली समुदायको अधिकारका लागि काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि थिए। उनीहरूले किरात राई समुदायको महान चाड साकेला उँभौलीको शुभकामना दिए। न्यु योर्कमा भएको साकेला उँभौली कार्यक्रमको सभापतित्व केआरएसए न्यु योर्क च्याप्टर अध्यक्ष वाकासा वान्तावा राईले गरेकी थिइन्। कार्यक्रममा लाडिप्मा किराती अतिथि थिइन्। संयुक्त राष्ट्रसङ्घको स्थायी सभामा भाग लिन आएकी किराती नेशनल इन्डिजिनियस वुमन फोरमकी प्रोग्राम अफिसर हुन्।
टेक्सासमा भने साकेला उँभौली गत सालदेखि अनौपचारिक रुपमा मनाउन सुरु गरिएको छ। ‘अतिथिहरू आउन समय लाग्ने लगायतका कारणले हामीले साकेला उँभौली अनौपचारिक रुपमा मनाउँछौ,’ केआरएसए टेक्सास च्याप्टर अध्यक्ष प्रदिप राईले भने, ‘यसबाट हाम्रा केटाकेटीहरूले साकेला उँभौली, किरात राई भेषभुषा, खाना र संस्कार संस्कृतिबारे बढी सिक्न समेत पाउँछन्।’
टेक्सासको लिगेसी पार्कमा भएको साकेला उँधौलीमा धनुवाण प्रतियोगिता तथा राफल चिठ्ठा लगायतका कार्यक्रम गरिएको थियो। उक्त कार्यक्रममा टेक्सासमा रहेका कम्तिमा एक दर्जन सङ्घसंस्थाका प्रतिनिधि उपस्थित भएर किरात राई समुदायको महान चाड साकेला उँभौलीको शुभकामना आदान प्रदान गरेका थिए।
साकेला उँधौली र उँभौली गरी वर्षमा दुई पटक मनाइन्छ। गर्मी छल्न हिमाली भेगतिर जाँदा मनाइने चाडलाई उँभौली भनिन्छ भने जाडो छल्न तराई झर्दा मनाइने चाडलाई उँधौली भनिन्छ। साकेला प्रकृतिपूजक किरात राईहरू मौसम परिवर्तन सँगै विभिन्न जनावर र चराचुरुङ्गी जस्तै वासस्थान सर्ने प्राकृतिक अभ्याससँग जोडिएको छ।
प्रतिक्रिया