न्यू योर्क। अमेरिकाका विभिन्न सरकारी पेशामा आवद्ध नेपाली अमेरिकनहरुलाई एकिकृत गर्दै समुदायलाई सरकारी पेशामा आवद्द हुन प्रोत्साहित गराउन उद्देश्यले नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोसियन स्थापना भएको छ । न्यूयोर्क सिटीका विभिन्न सरकारी कार्यालयका पदाधिकारी, जननिर्वाचित प्रतिनिधिहरु, तथा ठूलो संख्यामा नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा न्यू योर्कको क्वीन्समा नोभेम्बर २३ मा विषेश कार्यक्रम गरी संस्थाको औपचारिक उद्घाटन भएको हो ।
हाल संस्थामा अमेरिकाको विभिन्न सरकारी प्रशासनहरु प्रहरी, आर्मी, वारुण नियन्त्रण सेवा लगायतमा आवद्ध नेपाली अमेरिकनहरु आवद्ध छन् । एशोसियनको संस्थापक अध्यक्षमा सोनाम घिसिङ, उपाध्यक्षमा शम्सेर खत्री, महासचिवमा रञ्जित गौली, सहसचिव लोब्साङ फुन्त्सोक, कोषाध्यक्षमा हेमो ओझा, सार्जन्ट एट आम्र्समा दिल प्रसाद थापा रहेका छन्। कार्यसमिति सदस्यहरुमा विजय राई, सञ्जिप लम्बु, विवेक थापा रहेका छन्।
कार्यक्रममा डिष्ट्रिक्ट एटोर्नी अफ क्वीन्स काउन्टी मेलिन्डा क्याज, नवनिर्वाचित अध्यक्ष सोनाम घिसिङ, एशोशिएसनको ट्रष्टी सदस्य डा. सुलोचना गुरुङ, कानूनी सल्लाहकार स्टुआर्ट अल्टम्यान, आर्मी राष्ट्रिय गार्ड सार्जन्ट एट आम्र्स दिल प्रसाद थापा, कार्यसमिति सदस्यहरु न्यू योर्क प्रहरीका सहायक प्रहरी अधिकारी विजय राई, न्यू योर्क प्रहरी सार्जेन्ट विवेक थापा, कोषाध्यक्ष न्यू योर्क वारुण नियन्त्रक हेमो ओझाले संयुक्त रुपमा रिबन काटेर संस्थाको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रममा डिष्ट्रिक्ट एटोर्नी मेलिन्डा क्याजले प्रहरी सेवामा रही समुदायको सुरक्षा र समुदायको लागि सेवा गरेको भन्दै सम्पूर्ण अफिसरहरुलाई धन्यवाद व्यक्त गरे। डिष्ट्रिक्ट एटोर्नी मेलिन्डा क्याजले नवनिर्वाचित सम्पूर्ण टिमलाई पद तथा गोपनियताको सपथ खुवाएकी थिइन्।
न्यू योर्क स्टेट डिष्ट्रिक्ट ३८ का एसेम्ब्ली वुमन जेनिफर राजकुमारले नव निर्वाचित अध्यक्ष सोनाम लगायत सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दै नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसनको स्थापना नेपाली अमेरिकन समुदायको लागि गर्वको कुरा भएको बताए। उनले नेपाली अमेरिकन समुदाय बृद्दि हुँदै गएकोमा खुशी व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष सोनाम घिसिङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष सोनामले सन् २०२२ देखि न्यू योर्क प्रहरी सेवामा आवद्ध रही सेवा गर्दै आएका छन्।
कार्यक्रममा ट्रष्टी मेम्बर डा. सुलोचना गुरुङले नव निर्वाचित अध्यक्ष लगायत टिमलाई शुभकामना व्यक्त गर्दै नेपाली अमेरिकन समुदायको लागि सेवा गर्न पाएकोमा आफुलाई गर्व लागेको बताए। जिपिके फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे, किरात राई सोसाइटी अफ अमेरिका न्यू योर्क च्याप्टकार अध्यक्ष वाकाशा वान्तावा राइ लगायतले शुभकामना व्यक्त गरे। कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधीहरु, नेपाली डायस्पोराका अगुवाहरु सहभागी थिए।
कार्यक्रममा संस्थाले यसअघि नेपालको रुपन्देहीको सियारीमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छोटो भिडियो प्रदर्शन गरिएको थियो।
क्वीन्स बोरो प्रेसिडेन्ट डोनोभान रिचार्ड तथा क्रंग्रेस वुमन ग्रेस मेङले एशोशिएसनलाई प्रोक्लेमेशन अवार्ड प्रदान गरेका थिए । संस्थाको तर्फबाट उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा मेलिशा गुरुङले उपस्थित सबैलाई स्वागत गरेका थिए, साथै नेहा ठकुरी र मेलिशा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
नेपाली अमेरिकन समुदायका विभिन्न सरकारी पेशामा आवद्ध व्यक्तिहरुलाई एकै ठाउँमा जोड्ने र नेपाली अमेरिकनहरुलाई ल इन्फोर्समेन्ट पेशामा आवद्द गराउन मद्दत गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको एशोशिएसनले जनाएको छ। एशोशिएसनले नेपाली अमेरिकन समुदायसँग सम्बन्ध विस्तार गरी सामाजिक कार्यमा आवश्यक सहयोग गर्ने जनाएको छ।
५०१ सी (३) अन्तर्गत दर्ता भई सञ्चालनमा रहेको संस्थाले ल इन्फोर्समेन्ट एजेन्सी र नेपाली अमेरिकन समुदायबीच सम्बन्ध बिस्तार गरेर पुलको काम गर्ने उद्देश्य राखेको छ। साथै जनचेतना मार्फत सार्वजनिक सुरक्षा पेशागत अवसरको बारेमा पनि जानकारी दिने आयोजकले जनाएको छ।
प्रतिक्रिया