
न्यू योर्क।
‘छोरो सानो छ। अशक्त छु। पोहोर श्रीमानलाई एमजनले महिना दिन नबित्दै कामबाट निकालिदियो। अहिले लग्वार्डिया एअरपोर्टले पनि सेक्युरिटी गार्डको काम गर्ने घण्टा घटाइदिएको छ। धेरै अप्ठ्यारो अबस्था छ।’
गीता अधिकारीको ‘टेस्टिमोनी’ को सार हो यो। असक्त परिवारका लागि सुरक्षित रोजगारले कति महत्व राख्छ भन्ने गीताले राम्ररी बुझेकी छन्। त्यहि भएर उनी बिहबिार सिटी हल पुगिन्। आफ्नो डिस्ट्रिकको जनप्रतिनीधि जुली वनलाई भेट्न। साथमा थिए उनीसँग एउटै घरमा बस्ने ध्रुब ज्योति श्रेष्ठ। ‘बुडा (श्रीमान) लाई काममा नजाउ भन्ने कुरा भएन। आवर नै थोरै छ,’ सिटी हल अघि भेटिएकी उनले सुनाइन्, ‘जुली वनलाई भेट्ने अवसर गुमाउने कुरै भएन। त्यहि भएर दाई (ध्रुव) को सहयोगमा आएकी।’
न्यू योर्क सिटीको कामदार सम्बन्धी तीतो तथ्यांकः
- न्यू योर्क सिटीका चार मध्ये एक महिला कामदार कार्यस्थलमा अनुशासनात्मक कारवाहीबाट जोगिन यौन दुराचारको शिकार बनेका छन्। दुराचार विरुद्ध बोल्दा जागिर जाने डर हुन्छ।
- न्यू योर्क सिटीका १० मध्ये एक पुरुष कामदार कार्यस्थलमा अनुशासनात्मक कारवाहीबाट जोगिन यौन दुराचारको शिकार बनेका छन्। दुराचार विरुद्ध बोल्दा जागिर जाने डर हुन्छ।
- न्यू योर्क सिटीमा कार्यस्थलमा हुने समस्याबारे बोल्दा सातमध्ये एकले कि अनुशासनको कारवाही भोग्नु परेको छ, कि कामबाट निकालिनु परेको छ।
एक्लै हिड्न गाह्रो हुने उनले टेस्टिमोनियल पनि नेपालीमै लेखेर लगेकी थिइन्। साउथ एशियन र इन्डो करेबियन आप्रवासी समुदायको हीतमा आएको संस्था देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) का नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटीले भाषा अनुवाद गरिदिने भएकाले वनले समस्या बुझिदिनेमा उनी खुुसी र ढुक्क थिइन्। तर, दुई घण्टा कुरेपछि डिस्ट्रिक ३६ लाई प्रतिनीधित्व गर्ने वनले ब्यस्तताका कारण भेट्न नसक्ने समाचार पठाइन्। उनलाई सिटी हल पुर्याएर ध्रुव पनि काममा गइसकेका थिए। स्ट्रोलरको सहायतामा घर फर्किन बाध्य गीता आक्रोशित थिइन्। ‘अपोइन्टमेन्ट क्यान्सिल भो। मजस्तो हिँड्न नसक्नेलाई दुःख दिए,’ उनले सुनाइन्।
भवानी भुषण अर्की नेपाली महिला हुन् जसले बिना सूचना दुई दुई पटक रोजगारीबाट हात धुनु पर्यो। महिला अधिकारवादी संस्था अधिकारबाट प्राप्त टेस्टिमोनियल अनुसार उनले २०२२ मा साताको एक दिन छुट्टी पाउने गरी बच्चा हेर्ने (न्यानी) काम पाएकी थिइन्। तर, २० दिनपछि उनलाई बिना सूचना हटाइयो। ‘इम्प्लोइमन्ट एजेन्सीले रोजगादातालाई मेरो थप सेवा नचाहिएकाले काममा नजानु भनेर म्यासेज गर्यो,’ टेस्टिमोनियलमा उल्लेख छ, ‘कारण सोध्दा मलाई परिक्षणका लागि मात्र राखिएको भनियो, जुन काम सुरु गर्दा भनिएको थिएन।’ सस्तोमा सातै दिन काम गर्ने अर्को न्यानी पाएपछि उनलाई हटाइएको थियो।
उनले २०२३ मा होम हेल्थ एड (एचएचए) प्रशिक्षण लिइन्। विशेष सेवा चाहिने बिरामीलाई तीन दिन १६ घण्टा हेरचाह गर्ने काम पनि पाइन्। तर, रोजगारदाताले उनलाई राम्रो ब्यबहार गरेन। काममा सास्ती दिए। र, एक दिन बिहानै कामबाट हटाइएको म्यासेज पठाए।
-
अन्यायपूर्ण बर्खास्ति वा अचानक रोजगारी गुम्दा कामदार र उनीहरुको परिवार ध्वंसात्मक परिस्थितिबाट गुज्रनु पर्छ। झण्डै आधा (४३ प्रतिशत) श्रमजीवी वर्ग आफ्नो आधारभूत आवश्यकता पुरा गर्न नसक्ने अबस्थाबाट एक वा दुईवटा पे चेक मात्र टाढा छन्।
गीता र भवानी असुरक्षित रोजगारको मारमा पर्ने दुई नेपाली प्रतिनीधि हुन्। ‘रोजगारदाताबाट पीडित कामदारको संख्या ठूलो छ,’ अधिकारकी सिनियर अर्गनाइजर नम्रता प्रधान भन्छिन्। आफू र आफ्ना परिवारका सदस्यको रोजगार कसरि पटक पटक जोखिममा परेको र त्यसले कस्तो आर्थिक कठिनाइ पैदा गरेको भन्ने कथा सुनाएपछि आफ्ना जनप्रतिनीधिले ‘सेक्युर जब्स एक्ट’ पारित गराउन भुमिका खेल्ने गीता र भवानीले विश्वास थियो। तर, दुवैले आफ्ना प्रतिनीधिलाई टेस्टिमोनियल सुनाउन पाएनन्। प्राविधिक गल्तिका कारण भवानीको नाम टेस्टिमोनी सुनाउने नाम सूचीबाट छुटेको थियो। रोगजारी गुमेपछि उनले तीन महिना बेरोजगार बस्नु परेको थियो। एक अध्ययन अनुसार न्यू योर्क सिटीका ४३ प्रतिशत कामदार आफ्नो आधारभूत आवश्यकता किन्न नसक्ने अबस्थाबाट एक वा दुई ‘विक्ली पे चेक’ मात्रा टाढा हुन्छन्।
गीता र भवानी जस्ता मिलेर समुदाय बनेको हुन्छ। समुदाय बलियो हुन गीता भवानी बलियो हुनुपर्छ। उनीहरुलाई बलियो बनाउने मुख्य आधार सुरक्षित रोजगार नै हो। तर, न्यू योर्क सिटीमा रोजगार सुरक्षा छैन। ‘अहिले बोल्न सक्ने र टाठाबाठालाई समेत रोजगारदाताले बिना कारण कामबाट निकालिरहेका छन्,’ अधिकारकी सिनियर अर्गनाइजर प्रधान भन्छिन्, ‘सेक्योर जब्स एक्ट पारित भए बिना कारण कामबाट हटाउने अबस्था अन्त्य हुन्थ्यो र सम्मानपूर्वक काम गर्ने अवस्था बन्थ्यो।’
अधिकारकै केस मेनेजर माया गुरुङ कामदारलाई बिना कारण निकाल्दा न्यायका लागि लड्ने आधार नभएको बताउछिन्। ‘हामीले केही गर्न सक्ने अबस्था छैन,’ उनी भन्छिन्, ‘सेक्योर जब्स एक्ट पारित भए यस्तो अबस्था अन्त्य हुन्थ्यो।’ बिना कारण कामबाट निकालिएका धेरै महिला न्याय पाइने आशामा उडसाइडस्थित अधिकारको कार्यालय पुग्ने गरेका छन्। अधिकारले भने कानूनको अभावमा ‘वेज थेफ्ट’ अर्थात् ज्याला चोरीको मुद्धामा मात्र सहयोग गर्दै आएको छ।
सेक्योर जब्स एक्टले के गर्छ?
- रोजगारदाताले कामदारलाई निकाल्नु १४ दिन अघि सूचना दिनुपर्छ। निकाल्नुको उचित र लिखत कारण दिनुपर्छ।
- कामदारलाई कामको गुणस्तरमा सुधार गर्ने मौका दिने प्रगतिशील व्यवस्था छ।
- आर्थिक कठिनाइका कारण कामदार निकाल्न लागिएको हो भने रोजगारदाताले त्यसको प्रमाण दिनुपर्छ।
- रोजगारदातालाई विद्युतीय निगारानी प्रणाली प्रयोग गरि कामदार निकाल्न वा अनुशासनको कारवाही गर्न रोक्छ।
सेक्योर जब्स एक्ट धेरै कामदार र आप्रवासी समुदायले भोगिरहेका अस्थिर रोजगार अवस्था सम्बोधन गर्न न्यूयोर्क सिटीमा प्रस्ताव गरिएको महत्वपूर्ण विधेयक हो। यो विधेयक पारित गराउन केही वर्षदेखि अभियान चलिरहेको छ। यो अभियनामा अधिकारकर्मी समूह र रोजगार सुरक्षामा चासो राख्ने मानिस छन्। खासगरी कोभिड १९ महामारी पछि रोजगारीमा आएको गिरावटका र बढेको जोखिमका कारण सेक्योर जब्स एक्टको महत्व चुलिएको छ।
हाल न्यू योर्क सिटी काउन्सिलका ५१ मध्ये सात सदस्यले मात्र सेक्योर जब्स एक्टको समर्थन गरेका छन्। यो विधेयक पारित गराउन कम्तिमा २६ काउन्सिल मेम्बरको भोट चाहिन्छ। ‘३० काउन्सिल मेम्बर पक्षमा भए सेक्योर जब्स एक्ट सहजै पारित गराउन सकिन्छ,’ ड्रमका नेपाली कम्युनिटी अर्गनाइजर सिवाकोटी भन्छन्। तर, कतिपय काउन्सिल मेम्बर त ब्यबसायीलाई समस्यामा पार्ने भन्दै सेक्योर जब्स एक्टको विरोधमा लागेका छन्।
सेक्योर जब्स एक्टले श्रमिक ब्यबस्थानमा विद्यमान प्रतिस्पर्धा र लचकता अन्त्य गरिदिने र त्यसले व्यवसाय नै धरासायी बन्ने धारणा राख्नेहरु पनि छन्। त्यसमा न्यू योर्क सिटी चेम्बर अफ कमर्स जस्ता व्यवसायीका संगठन र म्यानह्याट्न इन्स्टिच्युटजस्ता परम्परावादी वैचारिक समुहहरु छन्। तर, समुदाय बलियो, सुदृढ र सुरक्षित बनाउन सेक्योर जब्स एक्ट अपरिहार्य भएको सिवाकोटी बताउँछन्।
धेरै रोजगारदाताले उसलाई आवश्यकता पर्दा कामदारलाई बिदा समेत नदिई कामको बोझ र काम गर्ने समय बढाइ दिने, आवश्यकता नपर्दा काम गर्ने घण्टा कटौति गर्ने, मन नपरे वा सस्तो विकल्प पाए पूर्व सूचना र स्पष्टिकरणको मौका नदिई कामबाट हटाउने, कार्यस्थलमा विभेद गर्ने, दुव्यवहार गर्ने गर्छन्। रेस्टुरेन्ट र ब्युटि पार्लरमा काम हजारौं कामदारले अफ सिजनमा थोरै घण्टामात्र काम पाउँछन्। यसले उनीहरुको जीवन कष्टकर बन्दै आएको। सेक्योर जब्स एक्टले यस्तो अबस्था अन्त्य गरी स्थिर र सुरक्षित रोजगारको ग्यारेन्टी गर्छ।
सेप्टेम्बर २६ मा सिटी हल अघि आयोजित प्रदर्शनीमा काउन्सिल मेम्बर टिफानी कबान र सहाना हनिफ गरिखाने समुदायका लागि सेक्योर जब्स अनिवार्य भएको बताए। ‘कामदार भनेको हाम्रो शहर चलाउने इन्जिन हुन्,’ कबानले भनिन्, ‘हामीले सेक्योर जब्स एक्ट पारित गरेर उनीहरुको सुरक्षा गर्नुपर्छ, किनभने उनीहरु मध्ये झण्डै आधा आफ्नो आधारभूत आवश्यकता पुरा गर्न नसक्ने अबस्थामा पुग्न एक वा दुईवटा पे चेकभन्दा टाढा छैनन्।’
गरिबी घटाउन र तल्लो वर्गको जीवनस्तर उकास्न पनि रोजगार सुरक्षा आवश्यक छ। सेक्योर जब्स एक्ट तल्लो वर्ग र आप्रवासी कामदारलाई सुरक्षा प्रदान गर्न डिजाइन गरिएको छ। यो विधेयक कामदारलाई अन्यायपूर्ण बर्खास्तगीबाट जेगाउने, काम गर्ने घण्टा निश्चित गर्ने, स्थिर र समान श्रमशक्ति सिर्जना गर्ने लगायतका उदेश्यबाट प्रेरित छ। तल्लो वर्ग र आप्रवासी समुदाय सशक्त भए उनीहरुले अर्थतन्त्र र समाजमा योगदान दिन सक्छन्। विभिन्न अध्ययनले सुरक्षित रोजगारले मानसिक स्वास्थ सुधार गर्ने, गरिबी घटाउने र सामुदायिक एकता वलियो बनाउन भुमिका खेल्ने देखाएको छ।
न्यू योर्क सिटी कम्ट्रोलरको कार्यालयको तथ्यांक अनुसार न्यू योर्क सिटीमा हाल करिब ३९ हजार आप्रवासी कामदार बेरोजगार छन् जुन कूल आप्रवासी श्रम शक्तिको पाँच प्रतिशत हो। सिटी कम्ट्रोलरको यो तथ्यांक सरकारी रेकर्डमा रहेका आप्रवासीको संख्यामा आधारित छ। सिटी कम्ट्रोलरको अनुमान अनुसार न्यू योर्क सिटीमा करिब चार लाख ७६ हजार कागजात विहीन आप्रवासी छन्। प्रायजसो कागजात विहीन आप्रवासीको रेकर्ड सरकारी तथ्यांकमा हुँदैन।
सेक्योर जब्स एक्टमा चारवटा मुख्य प्रावधान छन्। पहिलो, रोजगारदाताले कामदारलाई निकाल्नु १४ दिन अघि सूचना दिनुपर्छ। निकाल्नुको उचित र लिखत कारण दिनुपर्छ। दोस्रो, यो कानूनले कामदारलाई कामको गुणस्तरमा सुधार गर्ने मौका दिन्छ। तेस्रो, आर्थिक कठिनाइका कारण कामदार निकाल्न लागिएको हो भने रोजगारदाताले त्यसको प्रमाण दिनुपर्छ। चौथो, रोजगारदातालाई विद्युतीय निगारानी प्रणाली प्रयोग गरि कामदार निकाल्न वा अनुशासनको कारवाही गर्न रोक्छ।
गीता अधिकारी
यो वर्ष सेक्योर जब्स एक्ट अभियान सेप्टेम्बर २६ को प्रदर्शनीबाट सुरु भएको हो। उक्त दिन थुप्रैले आफ्ना काउन्सिल मेम्बर भेट्न र आफ्नो पीडा सुनाउन पाए। गीता, भवानी र उनीहरुजस्ता आफ्नो टेस्टिमोनी सुनाउन नपाएकाहरु भने अर्को मौकाको पर्खाइमा छन्। उनीहरुलाई थाह छ, लडाइँ लामो छ। ‘सेक्योर जब्सका लागि नियमित वकालत र लबिङ गर्नुपर्छ ताकि धेरै भन्दा धेरै काउन्सिल मेम्बर हाम्रो पक्षमा आउन,’ उनी भन्छिन्।
अधिकारकी सिनियर अर्गनाइजर प्रधान सेक्योर जब्स एक्ट पारित गराउन सामुहिक पहलको आवश्यकता रहेको बताउँछिन्। नेपाली समुदाय सम्वद्ध संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा जनप्रतिनीधिहरु अतिथीका रुपमा उपस्थित हुने, टोपी र खादाको सम्मान लिने धेरै नेपालीले देखेका छन्। उनीहरुले जनप्रतिनीधिका शुभकामना पनि सुन्ने गरेका छन्। तर, त्यस्ता कार्यक्रममा सेक्योर जब्स एक्ट लगायतका तल्लो वर्ग र आप्रवासी समुदायका लागि साँच्चिकै अर्थ राख्ने विषयमा ज्यादै कम कुराकानी हुने गरेका छन्।
प्रतिक्रिया