
न्यू योर्क। सानै उमेरमा अमेरिका आएका मात्रै नभएर यहिँ जन्मिएका धेरै बालबालिकाहरु नेपाली बोल्छन्। गरिमा राना मगर (१२) र उनकी बहिनी गृष्मा दोस्रो पुस्ताका नेपाली अमेरिकी बालिका हुन् जो नेपाली भाषा खरर्र बोल्छन्।
नेपालमा रहेका हजुरआमा, काका र काकीसँग नेपालीमा कुरा गर्न गृष्मालाई रमाइलो लाग्छ। नेपाली भाषा सिकेकै कारण उनी ‘सात समुन्द्र पार’ रहेका आफन्तसँग जोडिन सकेकी छन्। भाषा नसिकेको भए काका, काकी र हजुआमा लगायतका आफन्तसँग उनको सम्बन्ध गाँसिने थिएन। उनीहरु बिरानो हुन्थे।
नेपाली भाषा सिकेकै कारण उनी ‘सात समुन्द्र पार’ रहेका आफन्तसँग जोडिन सकेकी छन्। भाषा नसिकेको भए काका, काकी र हजुआमा लगायतका आफन्तसँग उनको सम्बन्ध गाँसिने थिएन। उनीहरु बिरानो हुन्थे।
गृष्मा नेपाली भाषा बोल्ने दोस्रो पुस्ताकी नेपाली अमेरिकी प्रतिनीधि हुन्। उनीसँगै उनकी दिदी गरिमाले ‘पाँचौ तह’ को नेपाली भाषा कक्षा पुरा गरिसकेकी छन्। उनीहरु अहिले एसएनएलसिसीमा (भोलिन्टियर) स्वयंसेवक समेत बनेका छन्।छोरीहरुको स्वयं सेवा देखेर आमा रिना राना मगर, जो एसएनएलसिसीकी जेनरल सेक्रेटरी पनि हुन्, खशी भएकी छन्।
गृष्मा र गरिमालाई भाषा सिक्ने अबसर चाहिँ सरल नेपाली ल्याग्वेज एण्ड कल्चर सेन्टर (एसएनएलसिसी), न्युयोर्कले दिएको हो। आठ वर्ष देखि सञ्चालनमा रहेको एसएनएलसिसीमा हाल अमेरिका, युरोप र बेलायत गरि झण्डै १८० विद्यार्थी सहभागी छन्। पढाइ अनलाइन हुन्छ, निःशुल्क।
एसएनएलसिसी आठ वर्ष अघि आठ जना विद्यार्थीबाट सुरु भएको थियो। विद्यार्थी अध्ययनका लागि सशरिर कक्षामा उपस्थित हुनुपथ्र्यो। कोभिड –१९ को महामारीसँगै परिस्थिति बदलियो। फिजिकल क्लास अनलाइनमा रुपान्तरण भयो।
अमेरिकामा बसोबास गरिरहेका बालबालिकाहरुले नेपालमा रहेका आफन्तहरुसँग नेपाली भाषामा कुराकानी गरेको देखेर अभिभावकहरु खुशी छन् ।
गैर नाफामुलक एसएनएलसिसीमा हाल प्राविधिक, शिक्षक, बोर्ड, स्वयंसेवक गरी करिव २५ जनाको टिम छ । यहाँ हालसम्म ४०० विद्यार्थी नेपाली भाषा कक्षामा सहभागी भएको अध्यक्ष पद्मा लिंखा मगर बताउँछिन् । नेपालमा शिक्षिका रहेकी मगर साहित्यकार समेत हुन्। शिक्षिकाकै रुपमा काम गरिसकेकी सरस्वती राई (संस्थापक अध्यक्ष) तथा अभिभावक रीनाले सन् २०१८ मा एसएनएलसिसी स्थापना गरि सञ्चालनमा ल्याएका हुन्। सेन्टरले नेपाली जान्दै नजान्नेदेखि विद्यार्थीको नेपाली भाषाको स्तर हेरेर कक्षा कक्षा सञ्चालन गर्छ।
अमेरिकामै जन्मिएकी इक्सा लिम्बु (१४) नेपाली कक्षामा सहभागी भएर नेपाली भाषा र संस्कृति बुझ्न पाएकोमा एकदमै खुशी छन्।
आफूले पढाएका बालबालिकाले नेपालमा रहेका आफन्तसँगनेपाली भाषामा कुरा गरेको देख्दा खुशी र गर्व लाग्ने शिक्षिका रीना बताउँछिन्। अमेरिकामै जन्मिएकी इक्सा लिम्बु (१४) नेपाली कक्षामा सहभागी भएर नेपाली भाषा र संस्कृति बुझ्न पाएकोमा एकदमै खुशी छन्। ‘हामीले हाम्रो संस्कृतिको बारेमा अझ धेरै बुझ्नु छ,’ उनी भन्छिन्। उता १० बर्षिया परिधी गौतम पनि नेपाली भाषा पढेर नेपाली संस्कृति बुझ्न पाएको र नेपालीमा र आफन्तसँग कुराकानी गर्न सकेकोमा गर्व गर्छिन्।
एसएनएलसिसीले हालै आयोजना गरेको वनभोज कार्यक्रममा परिधी र इक्सा मात्र होइन निश्चय राई, अदृत महन्त, भगवती यादव, स्मारिका रिमाल, गीतिका श्रेष्ठ, अभिनव थुलुङ, सम्रिका रिमाल लगायत धेरै बालकालिकाहरु नेपाली भाषामा समेत गफिएका भेटिए।
प्रवासमा रहेका नेपालीलाई जोड्ने एउटा सशक्त माध्यम भाषा हो। यसले उनीहरुलाई ‘हामी नेपाली’ को भावनामा बाँधेर राख्छ। त्यहि भएर गृष्मालाई पनि एसएनएलसिसीमा स्वयंसेवा गर्ने चाहाना छ। ‘मैले नेपाली संस्कृति पनि बुझ्न पाएको छु, नेपालमा आफन्तसँग कुरा गर्न सकेको छु’, निश्चय भन्छन्, ‘म अब केन्द्रमा स्वयंसेवकको रुपमा काम गर्ने छु ।’ कक्षा हरेक शनिबार र आइतबार अनलाइन सञ्चालन हुन्छ। पाँचौ तह पूरा गरिसकेका विद्यार्थीहरु केन्द्रमा सहायक शिक्षकको स्वयंसेवा गर्न उत्साहित भएको देख्दा अभिभावकहरु पनि दंग छन् ।
नेपाल बाहेकका देशमा रहेका नेपाली विद्यार्थीले निःशुल्क कक्षा लिन पाउँछन्। कक्षामा नेपाली पर्व, भुगोल, कला, संस्कृति आदिका बारेमा पनि छलफल हुन्छ। अध्यक्ष मगर कक्षा सञ्चालन गर्न सजिलो नभएको बताउँछिन्। ‘विद्यार्थी र शिक्षक दुवैमा प्रतिवद्धताको खाँचो छ,’ उनी भन्छिन् ।
विद्यार्थीले कक्षामा सहभागी भएपछि कम्तीमा ८० प्रतिशत हाजिर हुनै पर्ने केन्द्रको नियम छ। प्राविधिक समस्या आए समाधान गर्न एउटा लिड र एउटा सहायक गरी २ जना शिक्षक खटाइन्छ। सहायक शिक्षक भने केन्द्रकै पूर्व विद्यार्थी हुन्छन्।
न्यू योर्कमा रहेको शेर्पा समुदायको सबैभन्दा पूरानो संस्था युनाइटेड शेर्पा एशोशिएसन शेर्पा किदुगले पनि २०१८ देखि नेपाली भाषा कक्षा तथा नेपाली नृत्य कक्षा संचालन गर्दै आएको छ । किदुगका अध्यक्ष तेम्बा शेर्पाले प्रत्येक शनिबार नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको बताए। ‘कोभिड सुरु भएपछि अनलाईन गयौं,’ उनले भने, ‘यस्तो कक्षाले बालबालिकालाई सबैसँग घुलमेल हुन ठुलो मद्धत पुगेको छ।’
युनाइटेड शेर्पा एशोसियसन, नेपाल आदिवासी जनजाति महिला महासंघ (फिवना), रिजउड नेपाली सोसाइटी लगायतका संघ संस्थाले नेपाली भाषा कक्षा सञ्चालन गरिरहेका छन्। आफू जन्मिएको देशप्रतिको माया र नेपाली हुनुको गर्वले नै उनीहरुलाई यस्तो स्वयंसेवामा टिक्ने उर्जा दिएको हो।
शेर्पा किदुगले शेर्पा भाषा, धर्म, संस्कार, रितीथिती, कला, संस्कृति आदिको संरक्षण र संबर्धन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको अध्यक्ष शेर्पाले बताए । शेर्पा किदुगले शेर्वी रिगशुङ लोप्टा (शेर्पा सांस्कृति केन्द्र) समितिको स्थापना गरी शेर्पा, नेपाली भाषा, शेर्पा, नेपाली नृत्य, विभिन्न गाजाबाजा देखि नित्य बौद्ध पुजा पाठ र बौद्ध शिक्षा र विभिन्न प्रवचनका कक्षाहरु सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
एसएनएलसिसीका सम्पूर्ण शिक्षकहरू स्वयंसेवक भएकोले निःशुल्क पठनपाठन निशुल्क रहेको केन्द्रका अध्यक्ष लिंखा मगरले बताइन् । गैर नाफामुलक संस्था एसएनएलसिसी नै यस्तै नेपाल र नेपाली भाषा प्रेमीहरुको स्वयंसेवाबाट चलेको छ। आफू जन्मिएको देशप्रतिको माया र नेपाली हुनुको गर्वले नै उनीहरुलाई यति लामो समय स्वयंसेवामा टिक्ने उर्जा दिएको हो।
नेपाल आदिवासी जनजाति महिला महासंघ (फिवना)ले पनि नेपाली भाषा कक्षा सञ्चालनमा ल्याएको छ। भाषा कक्षाले नेपाली बालबालिका बीच नयाँ साथी बनाएर सामाजिक हुन मद्धत पुगेको अध्यक्ष इन्दिरा चोङबाङ बताउँछिन्। उता रिजउड नेपाली सोसाइटीले पनि नेपाली भाषा कक्षा सञ्चालनमा ल्याएपछि भाषा सिकाइसँगै नयाँ साथी बनाउने अवसर पाएक छन्। सोसाइटीका अध्यक्ष राजेश भट्टले नेपाली भाषा कक्षाकै कारण बालबालिकाहरु नेपाली भाषा, गीत र नृत्य सिकेर नेपाली समुदाय तथा न्यू योर्क सिटीमा हुने विभिन्न कार्यक्रममा सांस्कृतिक जाने गरेको बताए । नेपाली भाषाकै कारण बालबालिका तथा उनीहरुको अभिभावकहरु समेत नजिकिएको र न्यू योर्कमा नेपाली पहिचान प्रबद्र्धन भएको उनको अनुभव छ ।
प्रतिक्रिया